35-औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना
बहुरङ्गी छ यो मानिसको जिन्दगी पनि इन्द्रेणी जस्तै: दुख-सुख, प्रेम-घृणा, काम-क्रोध, लोभ-घमण्ड, डाह-ईर्ष्याआदि जस्ता सप्तरङ्गी माननीव स्वभावहरूले भरिपूर्ण। यी स्वभाव कसैमा सुषुप्त रहन्छ भने कसैमा उजागर तर रहन्छ सबैमा, छैन भने उसलाई मानिस भन्न मिल्दैन उसलाई भगवान भने पनि हुन्छ। आउनुहोस मानिसको यही बहुरङ्गी जिन्दगीको जिजीविषामा भेटिने ऊहापोहहरुलाई एउटा पानामा समेटेर महसूस गरौँ हामी कथाको रुपमा यो ब्लगमार्फत। पढ़ेर अवश्य कमेन्ट गर्नुहोला।
पखिला-२: उपल्लो आसामको बाढ़ी शिविरतिर
२०१७ जुलाई महीनाको मध्य भाग । पश्चिम क्षितिजमा घाम डुबिसकेकोछ तर अँध्यारोले आफ्नो साम्राज्य अहिले फिँजाइसकेको छैन। ब्रह्मपुत्र नदीको किनारको रिभरसाइड अल्फ्रेस्को ग्र्याण्डको खुला रेस्ट्रोँमा जति घुट्को बियर खान्छु त्यति पुरानो पलमा पुग्छु म। आजभन्दा झण्डै दस-एघाह्र वर्ष अघिको कुरो हो – यहीँ मैले पखिलालाई बढ़ो रोमाञ्चक र अनौठो पाराले भेटेको थिएँ। त्यसबेला यो अल्फ्रेस्को ग्र्याण्ड थिएन अल्फ्रेस्को मात्र थियो। सायद दाजु-भाइमा अंश-बण्डा भएको होला – एकताकाको अल्फ्रेस्को अहिले अल्फ्रेस्को र अल्फ्रेस्को ग्र्याण्ड भएको छ। जीवन कति परिवर्तनशील छ – मानिसले जति नै चाहे पनि आखिर सग्लो त कुनै थोक आजीवन रहदैन रहेछ। यही अल्फ्रेस्कोमा मैले पखिलालाई भेटेको थिएँ। पखिलासितको त्यो अनौठो भेट साँच्चै मैले आजसम्म भुलेको छैन।आकासी नीलो सलवार-कमीजमा म्याच गर्ने निधारमा नीलो टिको, हातमा नीलो ब्याग, कानमा नीलो कानफूली, नारीमा नीलो बाइँ, खुट्टामा नीलो जुत्ता र गोरो मुहारमा सानो खैरो चश्मा- मेरो आँखामा पखिलाको त्यो पहिलो झलक अझ झल्झल्ती छ। पखिलासित छुटेपछि उसित फेरि कहिले कुनै सम्पर्क भएन – कता होली, कस्ती होली, के गर्दै होली—जेलमा पो पुगी कि? जिउँदै पनि छ कि ? कहिले-काहीँ औधीँ याद आउँछ। आज झण्डै दस वर्षपछि गुवाहाटीको त्यही ठाउँमा आइपुग्दा म नोस्टाल्जीक भएकोछु। पखिलालाई भेटने उत्कट इच्छा जागेको छ मेरो मनमा। तर.....तर मसित उसको ठेगान छैन न त सम्पर्क नम्बर नै। त्यसबेला मोबाइलको त्यति चलन थिएन...फेरि मैले त्यसबेला पखिलाले मोबाइल चलाएको पनि देखिनँ। उसको घरको ठेगानादि पनि लिइनँ बस जोरहाटको निमातिघाटमा कमलापुर गाउँ हो मेरो भनेकी थिई....कता हो यो कमलापुर....कता होला निमातिघाट ....त्यहाँ पुगेर खोजे भेटिन्छ कि भेटिँदैन होला। हुन त यसबेला गुवाहाटीमा मेरो केही काम छैन पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलनको भुमरीमा अल्झिएर यहाँ बरालिरहेकोछु, अझै बरालिँदै कता पुगिने हो केही थाहा छैन मलाई। कोही-कोही बेला त भविष्य निष्पट अँध्यारो र गन्तव्यविहीन देख्छु। होइन यस्तो निराश हुनु राम्रो होइन – मेरो एउटा मनले मलाई प्रोत्साहन दिन्छ- मलाई थाहा छ हार-जीत र सफलता-असफलता भन्ने मनोस्थिति मात्रै हो। जीत हुने, सफल हुने विश्वास जन्माउनु छ मनमा मलाई – मलाई सङ्घर्ष गर्नु छ- लड़ाई लड़नु छ यति छिटो हार मान्नु छैन – किनभने जीवन अझै सकिएको छैन। मनले हारेको दिन म साँच्चै जीवनदेखि पनि हार्नेछु।
अस्थिर बादल
तँ त कत्ति लाटी

+ + +
हुन पनि रूपा त्यो दिन अत्यन्तै खुशी थिई। पहिले त अत्तालिएकी रूपासित शहरको व्यस्त बजारमै स्थित पल्लवी जैनको काँचको पारदर्शी कार्यालयभित्र पस्दा मलाई अप्ठ्यारो लागेको थियो। आजसम्म म कहिले बजारस्थित यस्ता कार्यालयहरुभित्र पसेकी थिईनँ। त्यसो त म शहरमै हुर्केँ, पढ़ेँ, जागिरे भएँ अनि यी भवनहरू पनि बनिएको देखेँ तर भित्र पस्न कहिले जरुरी परेन। त्यो दिन रूपाको कारणले भित्र पस्नुपर्दा मलाई किन हो किन एक क्षण त कुरीकुरी लागेको थियो। कार्यालयको काँचको गह्रुँ दैलो ठेल्दै रूपाले मेरो पाखुरा च्याप्प पक्रेर तान्दै भनेकी थिई,”छ्या ! तँ त कत्ति लाटी छेस् हो ।” निलो रङ्गको टाइल्स भएको भुइँ, गुलाबी भित्ता र त्यस्तै आकर्षक रङ्गको छाना, त्यसमा ससाना टिमटिम गर्ने बत्ती – त्यो कोठाभित्र पस्दा त्यसको रङ्गीचङ्गीले म तिरीमिरी भएको थिएँ। भित्र अझ एउटा फुलबुट्टा डिजाइन्स् भएको काँचको पार्टिसन थियो। बाहिरपट्टि रङ्गिन टेबलसामु रिभोल्विङ कुर्सीमा बसेर कम्प्युटरमा व्यस्त रहेकी युवतीले हामीलाई ......... हामीलाई होइन रूपालाई देख्नेबित्तिक्कै कम्प्युटरको ! स्क्रीनबाट नजर हटाई अनुहार हँसिलो पारेर भनेकी थिई, “प्लिज गो ईन् म्याडम इज वेटिङ्ग फर यू।”
त्यो घुम्तीपछि

बाघपुल नाघेर
सेवकेश्वरी काली मन्दिरमा गाड़ी पुग्दा मनभित्र कतै कटक्क बिझायो।
जामले गर्दा सड़कमा गाड़ीको ताँत लागेको छ। आज आइतवार......दर्शनको निम्ति सिलगड़ीबाट आएका श्रद्धालुहरुको गाड़ी र घुइँचोले सड़क त्यसै जाम हुन्छ। “सिलगड़ीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड़्यो... मन्दिरको नाम पनि सेवकेश्वरी अरे!” कुनै सहयात्रीले आफ्नो मन्तव्य पोख्यो। मलाई उसको मन्तव्यले कुनै असर पार्न सकेन। मनमा माया र प्रेम लड़ीबडी गरेपछि यस्ता कतिपय कुराहरु तर्कहीन लाग्दोरहेछ.....मान्छेले बनाएका साँध-सीमाना र नियम जम्मै वाहियात लाग्दोरहेछ। हुन त सबै मानिसको एउटै संसार हुँदैन.....आ-आफ्नो बेग्ला-बेग्लै संसार हुन्छ र सबै आ-आफ्ना संसारमा आ-आफ्नै पाराले रमाइरहेका हुन्छन्। यो सेवकेश्वरी मन्दिरले अरुलाई के दियो मलाई थाहा छैन तर मलाई जिन्दगीभरिको निम्ति यसले मीठो सम्झना दिएको छ.......सम्झना दिप्तीको... दिप्ती दासगुप्ता जसलाई मैले एकपल्ट यही मन्दिरमा लिएर आएको थिएँ.....सायद हाम्रो भेटघाटको अन्तिम भेट.... सायद हामी दुवैको यो मन्दिरमा पहिले र अन्तिम भ्रमण। त्यो दिनभन्दा पहिले पनि कालेबुङ र सिलिगड़ी ओहोर-दोहोर गर्दा मैले मन्दिरको यो घुम्ती कैयौंपल्ट नाघेंँ तर मन्दिरमा कहिले त्यस्तो केही खास देखिनँ....दिप्तीलाई मन्दिर दर्शन गराएपछि पनि कैयौं पल्ट यो मन्दिर भएर ओहोर-दोहोर गरेँ तर फेरी एक्लै मन्दिर पस्ने इच्छा जगाउन सकिनँ। जिन्दगीको एउटा सानो घुम्ती नाघेपछि मान्छेको हेराइमा कति फरक पर्दोरहेछ मैले बल्ल चाल पाएँ। “हो नि...लौ हेर्नोस् त भीड....आम्बौ”- अर्को सहयात्रीले आफ्नो बुद्धिमानीको प्रमाण दियो। मेरा नाङ्गा आँखाले भने त्यो भीड़भित्र उनीहरु जस्तै देखिने दिप्ती पो छ कि खोज्यो...तर गहुँ-वर्ण मिले तापनि चिनेको र चाहेको अनुहार त्यो भीडमा भेटिनँ । गाड़ीभित्रैबाट मैले नजर उचालेर मन्दिरतिर हेरें। माथि मन्दिरको सिँड़ीमा अहिले पनि रातो कुर्ता लगाएर उभिरहेकी दिप्तीको झझल्को आयो मलाई। हुन पनि जतिपल्ट यो मन्दिर भएर ओहोर-दोहोर गर्छु त्यतिपल्ट कतै माथि सिँड़ीमा उभिएर मुसुक्क हाँस्दै दिप्तीले त्यो दिन पर्खेकी जस्तै आज पनि पर्खिरहेकी भान् हुन्छ मलाई । त्यसबेला देब्रे छात्तीमा असहनीय पीड़ा महसुस गर्छु र आँखा रसिनथाल्छ। यो पीड़ा र वेदनाबाट भाग्न निकैपल्ट यो सड़क भएर यात्रा नगर्ने अठोट पनि गरें मैले तर मसित अर्को विकल्प छैन। विकल्प भए तापनि सायद म यही सड़क भएर नै यात्रा गर्थें होला किन भने दिप्तीको सम्झनाले यति मीठो पीड़ा र वेदना दिन्छ....अर्को यात्रा नगरुञ्जेलसम्म त्यो सम्झनाले मलाई जिउने र केही गर्ने प्रेरणा दिइरहन्छ।

